दुई महिनाका लागि जुफाल बिमान स्थल बन्द गरिएपछि डोल्पा जिल्लाका स्थानीय बासिन्दाहरु समस्यामा परेका छन् ।
स्तरोन्नतिका लागि भन्दै नेपाल नागरिक उड्ययन कार्यालयले दुई महिनाका लागि धावन मार्ग बन्द गरेपछि जनता समस्यामा परेका हुन् ।
यातायातको एममात्र साधन हवाई सेवा बन्द भएपछि नेपालगञ्ज र सुर्खेत लगायतका जिल्लाहरुमा आवत जावत बन्द भएको छ । हवाई जहाज नआउने भएपछि जिल्लाका अधिकांश बिद्यार्थी, बिरामी तथा कर्मचारी हिडेर सुर्खेत झर्न थालेका छन् ।
जुफाल विमानस्थलको स्तर उन्नतिका लागि दुई महिनाका लागि बन्द गरिएको नेपाल नागरिक उड्ययन प्राधिकरण डोल्पाले जनाएको छ । हिउँदको समयमा हिमपातको समस्या पर्ने भएकाले आवत जावतमा पनि ठूलो समस्या उत्पन्न हुने डोल्पा दुनैका नामगेल लामाले बताए ।
हिजो बिहिबारबाट हवाई सेवा बन्द भएपछि नेपालगञ्ज र सुर्खेतबाट डोल्पाका लागि पर्खिरहेका यात्रुहरु अलपत्र परेका छन् । नियमित उडान रोकिएपनि हेलिकोप्टरको चार्टन भइरहने नागरिक उड्ययनले जनाएको छ । चार्टन उडानको भाडा एकदमै महङ्गो हुने भएकाले गरिबका लागि आकासको फल नै भएको डोल्पाका स्थानीय मानबहादुर पहाडीले बताए । छिटो भन्दा छिटो संचालनमा ल्याउनका लागि जिल्ला बासीले माग गरेको समेत उनले बताए ।