Tuesday, 8 January 2013

धादिङका छोरीहरुले प्रधानमन्त्रीलाई पत्र पठाए

महिलामाथि हिंसा रोक्न देशभर धर्ना र प्रदर्शन भैरहेका बेला धादिङका छोरीहरुले प्रधानमन्त्रीलाई पत्र पठाएका छन् । निकै भावनामा बगेर लेखिएको पत्रमा महिलाको सुरक्षा गर्न जोडदार माग गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय धादिङमा प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको पत्रको व्यहोरा यस्तो छ: प्रधानमन्त्रीज्यु, आजभोलि हामी एकदमै डर त्रासमा बाँचिरहेका छौं । हामी घरभित्र र वाहिर कहिँ पनि सुरक्षाको महसुस गर्न सकिरहेका छैनौं । हाम्रो हाँस्ने खेल्ने र पढ्ने यो समयमा हामीले हाँस्न बिर्सिसकेका छौं । हाम्रो सपनामा समेत हामी कतिबेला बलात्कृत हुन्छौं, कतिखेर मारिन्छौं भनेर आत्तिने गरेका छौं । यस्तो परिवेशमा हामीले कसरी पढ्न सक्छौं ? कसरी हाम्रो विकास गर्न सक्छौं ? हामी आफ्नै वाबु, आफ्नै हजुरबाबु, आफ्नै मामा र दाजुबाट वलत्कृत हुनुपरेपछि हामीले कसको विश्वास गर्ने ? हामीलाई हाम्रै परिवारले जिउँदै जलाएर मारिरहेका छन् । के हामीले बाँच्न पाउँदैनौं ?
हामीले हजुरलाई पठाएको उपहारमा जस्तै हामीलाई अहिले कोपिलामै निमोठिएको छ । कोपिलामै निमोठिएपछि हामी फुल्न सक्दैनौं । यही अवस्था हो भने भोलि तपाईको फुलबारी उजाड र मरुभूमि हुनेछ । त्यत्तिबेला यहाँले चाहेर पनि त्यसलाई हराभरा बनाउन सक्नु हुनेछैन । त्यसैले प्रधानमन्त्री ज्यु जतिसक्दो चाँडो यी कोपिलाहरुलाई निमोठिन नदिनू । यिनीहरुलाई र्फकने र फुल्ने वातावरण सृजना गर्नुहोस् , हाम्रो अस्मिताको रक्षा गर्नुहोस् । हामी सुरक्षित भएर हाम्रो विकास गर्न चाहान्छौं । हामीलाई यो कहालीलाग्दो वातावरणबाट बाहिर निकाल्नुहोस् । आज हामी सुरक्षित भयौं भने मात्र हाम्रो भविष्य सुरक्षित हुन्छ । हामी बाँच्न चाहान्छौं । हामीलाई बाँच्न दिनुहोस् । आशा छ, हाम्रो कुरालाई हजुरले गम्भीरतापूर्वक लिनुहुनेछ र सोच्नुहुनेछ । तत्काल यहाँले ठोस कुनै कदम चाल्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौं । उही हजुरका धादिङका छोरीहरु

You Might Also Like This

 

Pages