Tuesday, 8 January 2013

सभामा गोली चल्यो, आज जिल्ला बन्द

दाङ पुस २४ - लोडसेडिङ विरुद्ध आन्दोलन गरिरहेका प्यूठानका स्थानीयले विरोध सभा गरिरहेकै बेला गोली चलेको छ। सोमबार प्यूठानस्थित बुटवल पावर कम्पनीको अगाडि आन्दोलनकारीले विरोध सभा गरिरहेकै बेला एकाएक आएको हुलले बुटवल पावर कम्पनीमा आगजनी गर्न थालेपछि प्रहरीले गोली चलाएको हो। त्यसपछि भएको झडपमा आधा दर्जन प्रहरीहरु घाइते भएका छन्। त्यस्तै प्रहरीले चलाएको गोली लागेर एक जना आन्दोलनकारी घाइते भएका छन्। त्यस्तै ढुङ्गामुढा हुँदा आन्दोलनकारीहरु घाइते भएका छन्। आगजनीका कारण बुटवल पावर कम्पनीका अधिकांश भवनहरु जलेका छन्। प्रहरीका अनुसार कम्पनीको कार्यालय परिसरमा रहेका करिब आधा दर्जन भवनहरु अन्य सामग्रीहरु सबै जलेका छन्। क्षतिको यकिन विवरण आइसकेको छैन। तर करोडौंको क्षति भएको प्रहरीको भनाई छ। गत पुस १६ गतेदेखि लोडसेडिङको विरोधमा आन्दोलन गर्दै आएका प्यूठान, रोल्पा तथा अर्घाखाँचीका स्थानीयले सोमवार बुटवल पावर कम्पनीको अगाडि विरोध सभा आयोजना गरेकाथिए। कार्यक्रम भइरहँदा एकाएक आएको हुलले कम्पनीको कार्यालय कब्जा गर्न खोजेपछि त्यहाँ झडप भएको थियो। प्रहरीले भीडलाई नियन्त्रण गर्न नसकेपछि प्रहरी त्यहाँबाट उत्पादन गृहको सुरक्षाका लागि गएपछि आगजनी भएको हो। प्रहरीले करिब ६० राउण्डजति अश्रुग्यास समेत प्रहार गरेको थियो।
सुरक्षका लागि खटिएका प्रहरी निरीक्षक कृष्ण कार्की लगायत ७ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। कार्कीको टाउको तथाअन्य स्थानमा ढुङ्गाले चोट लागेको प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेले बताए। त्यस्तै प्रहरीको गोली लागेर प्यूठान गोठिबाङ ३ जसडापाटाका स्थानीय २४ वर्षीय सन्तोष बुढा घाइते भएका छन्। आन्दोलन संयोजन समितिका संयोजक मुक्तिप्रसाद शर्माले बताए। उनका अनुसार ढुङ्गाले लागेर थुप्र्रै आन्दोलनकारी पनि घाइते भएका छन्। २०४९ सालदेखि प्यूठानको झिम्रुक जलविद्युत आयोजनबाट बुटवल पावर कम्पनीले करिब १४ मेघावाट विद्युत उत्पादनगर्दै आएको थियो। त्योमध्ये करिब ४ मेगावाट विद्युत प्यूठान, रोल्पातथा अर्घाखाँचीलाई वितरण गरिएको थियो भने बाँकी विजुली मुख्य लाइनमा जोड्नका लागि नेपाल सरकारले किनेको थियो। यसअघि लोडसेडिङ नभएको प्यूठान, रोल्पा र अर्घाखाँचीमा यसपाली भने बुटवल पावर कम्पनीले सरकारको निर्देशन भन्दै १६ गतेदेखि दैनिक ६ घण्टा लोडसेडिङ गर्दै आएको थियो। त्यसैको विरोधमा स्थानीयले आन्दोलन थालेका हुन्। आन्दोलनका संयोजक नेपाली कांग्रेसका पूर्व सांसद मुक्ति शर्माका अनुसार सोमवारको घटनापछि बसेको आठ दलको संयुक्त बैठकले मंगलवार प्यूठान बन्दको घोषणा गरेको छ। तर बैठकले घटनाको जिम्मेवारी भने लिएको छैन। ‘जिम्मेवारी त हामीले किनलिने?' शर्माले भने ‘सरकारले लिनुपर्छ, आक्रोशित भीडले आगजनी गरेको छ, त्यसको जिम्मेवारी हामीले कसरी लिने?' बैठकले आगजनी तथा समग्र घटनाप्रति दुःख व्यक्त गरेको छ। आन्दोलनकारीले सोमवार वुटवल पावर कम्पनीको कार्यालय कब्जा गर्ने, कार्यालय भएको स्थान दामा चौरमा विरोध सभा र फिडर कब्जा गरेर लोडसेडिङ गर्न नदिने कार्यक्रम तय भएको थियो। तर एक एक आगजनी भएपछि सबै कार्यक्रहरु बिथोलिएका छन्।

You Might Also Like This

 

Pages