Monday, 7 January 2013
नयाँ वर्षमा बार्सिलोनाको उत्कृष्ट लय कायमै
स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले स्पानियोललाई पराजित गर्दै आफ्नो उत्कृष्ट लयलाई कायम राखेको छ । सन् २०१३ को पहिलो खेलमा हात पारेको जितसँगै उसले डिफेण्डिङ च्याम्पियन रियल मड्रिडसँग १६ अंकको अग्रतालाई जारी राखेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले चारै गोल पहिलो हालको २९ मिनेटभित्र गरेको थियो । बार्सिलोनाले १० औं मिनेटमा जाभीको गोलबाट अग्रता लिएको थियो ।
१५ औं मिनेटमा पेड्रोले अग्रता दोब्बर पारे भने २७ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै पेड्रोले बार्सिलोनाईलाई ३–० को अग्रता दिलाए । खेलको २९ औं मिनेटमा कासिल्लाले फेब्रिगासलाई डलाएपछि पाएको पेनाल्टीमा लिओनल मेस्सीले गोल गरे र बार्सिलोनालाई ४–० को फराकिलो जित दिलाए ।
क्रिष्टियानाको गोलमा रियल बिजयी
अर्को खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ४–३ गोल अन्तरले पराजित गरेको छ । खेलको दोस्रो मिनेटमा नै करिम बेन्जिमाको गोलबाट अग्रता रिएको रियल मड्रिड छैटौं मिनेटमा गोल रक्षक एडन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमित भएको थियो ।
नवौं मिनेटमा सोसिडाडका प्रिटोले बराबरी गोल फर्काए भने ३५ औं मिनेटमा सामी खेदेराले रियललाई फेरि अग्रता दिलाए । ४० औं मिनेटमा सोसिडाडका प्रिटोले फेरि बराबरी गोल गरे । दोस्रो हापको ६८ र ७० औं मिनेटमा गोल गर्दै क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडलाई ४–२ को अग्रता दिलाए । ७६ औं मिनेटमा सोसिडाडका प्रिटोले ह्याट्रिक पुरा गर्दै रियलको अग्रता ४–३ मा झारे । तर, ७९ औं मिनेटमा स्ट्राडा रातो कार्ड खाँदै बाहिरिएपछि सोसिडाड खेलमा फर्कन सकेन र रियल ४–३ ले विजयी भयो । अर्को खेलमा एथ्लेटिको मड्रिड माल्रोकासँग १–१ गोलको बराबरीमा रोकिएको छ ।
१६ अंकको अग्रता
गत वर्ष रियल मड्रिडलाई उपाधी सुम्पिएको बार्सिलोना यो सिजन उत्कृष्ट लयमा छ । लिगमा आधा अर्थात १८ खेल सकिँदासम्म अपराजित बार्सिलोनाले १ मात्र बराबरी खेलेको छ र ५२ अंकका साथ लिगको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको समान खेलबाट ४१ अंक छ भने तेस्रो स्थानमा रहेको रियल मड्रिडको ३६ अंक छ । उपाधी होडबाट लगभग बाहिरिसकेको रियल मड्रिड लिग लिडर बार्सिलोनाभन्दा १६ अंकले पछि छ ।