Tuesday, 8 January 2013
पत्रकारलाई 'जे पनि हुनसक्ने' माओवादी धम्की
पुस २४ - डेकेन्द्रराज थापा हत्याको मुद्दा उठाएको भन्दै एमाओवादीले स्थानीय पत्रकारलाई धम्क्याएको छ। द्वन्द्वकालको घटना ब्युँताएको आरोप लगाउँदै माओवादीले सार्वजनिक विज्ञप्तिमार्फत पत्रकारलाई ‘जे पनि हुनसक्ने' धम्की दिएको हो।
नेपाल पत्रकार महासंघ दैलेख शाखाले जिल्ला प्रशासनमा सोमबार निवेदन दिएर पत्रकार सुरक्षाको माग गरेको छ। मोहन वैद्य नेतृत्वको माओवादी र एमाओवादीका नेताले आतंकित पारेकाले सुरक्षा माग्नुपरेको महासंघका सचिव विष्णुकुमार शाहीले बताए।
२०६१ सालमा मारिएका पत्रकार डेकेन्द्रराज थापा हत्याका अभियुक्तलाई प्रहरीले पक्रेर आइतबार मुद्दा चलाएको छ। ‘द्वन्द्वकालको घटनालाई नउठाउन भन्दाभन्दै पनि उठाएर ठूलो भूल गरेकाले यसको परिणाम जे पनि हुन सक्छ,' एमाओवादीद्वारा जारी विज्ञप्तिमा छ।
आफ्ना कार्यकतालाई पक्रेर प्रहरीले फेरि द्वन्द्व निम्त्याएको नेकपा-माओवादीले बताएको छ। प्रहरी अधिकृतलाई समेत माओवादी नेताहरुले टेलिफोनमार्फत धम्क्याएका छन्। ‘पत्रकारलाई कहिलेसम्म जोगाउन सक्छौ ?' माओवादी धम्की उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने।(source nagarik)