20 पुस, काठमाडौं । १० करोडभन्दा बढी ठगी गरेको आरोपमा ओरियन्टल बिल्डर्सका प्रवन्ध निर्देशक सुधिर बस्नेत पक्राउ परेका छन् ।
ठगीको उजुरी परेपछि हाउजिङ व्यवसायी बस्नेतलाई अपराध महाशाखाले पक्राउ गरेको महानगरी प्रहरी परिसर हनुमानढाकाका प्रवक्ता धिरजप्रताप सिंहले अनलाइखबरलाई जानकारी दिनुभयो । उनीमाथि गठीको आरोपमा मुद्धा चलाइने प्रहरीले जनाएको छ । बस्नेतले ओरियन्टलसँगै कोहिनुर हाउजिङ,इस्टर्न अपार्टमेन्ट लगायतका हाउजिङ परियोजना सञ्चालन गरेका छन् । ३/४ वर्षअघि नै ग्राहकबाट लाखौं रकम उठाएका बस्नेतले अझैसम्म अपार्टमेन्ट दिन सकेका छैनन् । उनले ५ हजारभन्दा बढीसँग आंशिक र पुरा पैसा उठाइसकेका छन् । ग्राहकबाट रकम उठाएपछि बैंकले ऋण नदिएपछि बस्नेतले अपार्टमेन्टहरु बनाउन सकेका छैनन् ।
अग्नि एयरका सञ्चालक समेत रहेका उनलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको छ । ग्राहकको अनुरोधमा नेपाल इन्भेष्टमेन्ट बैंकले कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।