Monday, 7 January 2013

मुख्य श्रमगन्तव्यमा ९५ प्रतिशत कामदार

२४ पुस, काठमाण्डौं । वैदेशिक रोजगारीका लागि बिदेसिनेमध्ये ९५ प्रतिशत कामदार मुख्य गन्तव्य भनेर चिनिएका पाँच मुलुकमा मात्र जाने गरेका छन् । सरकारले एक सय ८ मुलुकमा रोजगारीमा जान पाउने व्यवस्था गरे पनि कुल बिदेसिनेमध्ये ९५ प्रतिशत कामदार मुख्य गन्तव्य मानिएका मलेसिया, कतार, साउदी अरब, युएई र कुवेतमा रोजगारीका लागि जाने गरेका छन् । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष ०५०/५१ देखि चालु आवको मंसिर मसान्तसम्म कुल रोजगारीका लागि बिदेसिने नेपाली कामदारको संख्या भने २६ लाख २५ हजार ४० जना रहेको छ । सो अवधिमा यी पाँच मुलुकमा रोजगारीमा जानेको संख्या २४ लाख ८० हजार ६ सय ५ जना छ । यो संख्या कुल बिदेसिने संख्याको करिब ९५ प्रतिशत हो ।
‘नेपाली कामदारको मुख्य श्रमगन्तव्य भनेकै खास गरी खाडी मुलुक र मलेसिया हो,’ वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई भन्छन, ‘कुल बिदेसिने संख्यामध्ये करिब ९५ प्रतिशत कामदार ती मुलुक जाने गरेका छन् ।’ भट्टराईका अनुसार सरकारले रोजगारीमा जान थुप्रै मुलुक खुला गरे पनि अदक्ष कामदार बढीजसो रोजगारीका लागि विदेश जाने भएकाले पाँचवटा मुलुक नै मुख्य गन्तव्य भएको सौर्य दैनिकमा खबर छ । विभागका अनुसार मंसिर मसान्तसम्म सबैभन्दा बढी कामदार रोजगारीमा मलेसिया गएका छन् । ०५०/५१ देखि चालु आवको मंसिरसम्म रोजगारीका लागि मलेसिया जाने कामदारको संख्या मात्र ८ लाख ३७ हजार दुई सय तीनजना छ । आव ०५०/५१ देखि ०६२/६३ सम्म महिला पुरुषको संख्या नछुट्याए पनि आव ०६३/६४ देखि आव ०६८/६९ सम्ममा मलेसिया जाने पुरुषको संख्या चार लाख ७३ हजार आठ सय १४ र महिला चार हजार ९४ जना छ । ०५०/५१ देखि ०६२/६३ सम्म रोजगारीका लागि मलेसिया जानेको संख्या दुई लाख ९६ हजार ६२ जना छ । यस्तै, नेपाली कामदारको दोस्रो श्रमगन्तव्यका रूपमा कतार रहेको छ । ०५०/५१ देखि चालु आवको मंसिरसम्म रोजगारीका लागि कतार जानेको संख्या सात लाख १६ हजार आठ सय ११ जना छ । ०६३/६४ देखि आव ०६८/६९ को अवधिमा चार लाख ८३ हजार सात सय ४५ पुरुष र दुई हजार एक सय ६२ महिला कामदार कतार गएका थिए । साथै, ०५०/५१ देखि ०६२/६३ सम्म रोजगारीमा कतार जानेको संख्या दुई लाख चार हजार चार सय ८६ जना छ । विभागका अनुसार नेपाली कामदारको तेस्रो श्रमगन्तव्य मुलुक साउदी अरब हो । सो मुलुकमा ०५०/५१ देखि चालु आवको मंसिरसम्म रोजगारीमा जानेको संख्या पाँच लाख २५ हजार २६ जान पुगेको छ । यस्तै, चौँथो श्रमगन्तव्य मुलुक युएईमा यो अवधिसम्म रोजगारीमा जाने नेपाली कामदारको संख्या तीन लाख ३३ हजार एक सय ५० जना पुगेको विभागले जनाएको छ । पाँचौं स्थानमा रहेको श्रम गन्तव्य मुलुक कुवेतमा ०५०/५१ देखि चालु आवको मंसिरसम्म रोजगारीमा जानेको संख्या ६८ हजार चार सय १५ जना पुगेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघकी सचिव सुवर्ण श्रेष्ठ कुल बिदेसिएका मात्र नभएर अहिले कायर्करत कामदारमध्ये ९५ प्रतिशत खाडी मुलुक र मलेसियामा रहेको बताउँछिन् ।

You Might Also Like This

 

Pages