Tuesday, 15 January 2013

नेताहरु र राष्ट्रपतिबीचको छलफल बिना निष्कर्ष

वर्तमान गतिरोध अन्त्यका लागि विभिन्न दलका नेताहरु र राष्ट्रपतिबीच भएको छलफलमा कुनै पनि सहमति जुट्न सकेन । विद्यमान राजनीतिक निकास खोज्न आज राष्ट्रपति डा रामवरण यादव र विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूबीच छलफल भएको थियो । उक्त छलफलमा कुनै पनि सहमति जुट्न नसकेको हो । राष्ट्रपतिले गत मङ्सिर ८ गतेदेखि समय तोकेर नयाँ प्रधानमन्त्री चयन गर्न दलहरूलाई गरेको नौँ पटकका औपचारिक आग्रहमा पनि कुनै सहमति नभएपछि आज प्रमुख दलका साथै अन्य दलका नेताहरूलाई संयुक्त बैठकमा बोलाइएको थियो । आजको बैठकमा राष्ट्रपतिले दलहरूलाई आगामी वैशाख–जेठभित्र संविधानसभाको नयाँ निर्वाचन गराउनुको विकल्प नभएकाले छिटोभन्दा छिटो सहमति गरेर आउन प्रमुख दलका नेताहरूलाई पुनः आग्रह गरेका छन् । अब राष्ट्रपतिले समयसीमा नतोक्ने तर छिटो सहमतिमा आउन औपचारिक आग्रह गर्ने सम्भावना रहेको बैठकमा सहभागी नेताहरूले जानकारी दिएका छन् ।
बैठकपछि एमाओवादीका नेता अमिक शेरचनले अवको पाँच/सात दिनभित्र सहमतिको पहल गर्ने समझदारी भएको बताए । उनले वर्तमान सरकारको नेतृत्वमा नभए स्वतन्त्र व्यक्तिको नेतृत्वमा भए पनि सरकार बनाएर नयाँ निर्वाचनमा जान आफ्नो पार्टी खुल्ला रहेको दाबी गरे । नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले भने सरकारवादी पार्टीहरू सत्ता लम्ब्याउन र निर्वाचन नगराउन उद्यत रहेको थप पुष्टी भएको भन्दै राष्ट्रपतिले थालेको सहमतिको प्रक्रियालाई पनि असफल तुल्याउने चाल रचिएको जनाए ।

You Might Also Like This

 

Pages