Friday, 18 January 2013
आमा पोइल जाँदा कुकुरको साथ
करिब १० वर्षका जस्ता लाग्ने ती बालक र कुकुरबीच हुने क्रियाकलाप देख्दा लाग्छ, त्यहां कसैले जादु देखाइरहेको छ र केही मानिस कठ्याङ्ग्रिदो जाडोको कुनै प्रवाह नगरी त्यहीं जादुको रमिते बनिरहेका छन्।
बालकले कहिले कुकुरको जीब्रो चाटिदिन्छन् त कहिले कुकुरले उनको। यसरी नै करिब आधा घण्टाको समय बित्छ। त्यसपछि उनले रमिते सबैसँग पैसा माग्छन् र त्यहीं संकलन भएको पैसाले खानेकुरा किनेर अनि कुकुरसंग बाँडी खान्छन्।
हेर्दा चौधरी समुदायका जस्ता देखिने अनि आफ्नो नाम ‘काल्या’ बताउने उनले आफ्नो घर झिंगौरा भएको र आमा दोस्रो बिहे गरी अन्तै गएपछि आफू कुकुरसँग बस्ने गरेको बताए। लरबराउँदो स्वरमा उनले भने,–‘आमा पोइल गइन, घरमा बाबाले बस्न दिंदैनन्, अनि यिनीहरु(कुकुर)सँग बस्छु।
उनले घर छोडेदेखि नै आफू तीन ओटा कुकुरसँग खाने बस्ने गरेको बताए। तीन कुकुरमध्ये उनले एउटालाई बाबा, अर्कालाई आमा र अर्को एउटा चाहीं साथी भएको बताउँछन्। तुलसीपुर चोकमा बदामको व्यापार गर्ने एक व्यापारीका अनुसार उनको दैनिकी निकै दयनीय तरिकाले बित्ने गरेको छ।
उनले भने,– ‘ऊ जस्तै अरु बच्चाबच्ची ड्रेस लगाएर यहींबाट स्कूल जान्छन्, तर यो भने कुकुरसँग दिनरात बित्छ, खाना समेत कुकरसंगै खाने भएकाले रेबिज समेत भएको हुनसक्छ।‘
हुन त बालबालिकाको अधिकार सुनिश्चित गर्न भन्दै सरकारले प्रत्येक जिल्लामा बालकल्याण समीतिपनि बनाएको छ। अनि बालबालिकाका क्षेत्रमा काम गर्ने भन्दै एनजिओ पनि बग्रेल्ती खुलेका छन्। तर, स्कूल पढ्ने र आमाको काखमा रमाउने उमेरमा कुकुरको साथमा बाल्यकाल बित्नै लाग्दा समेत बालबालिकाको क्षेत्रमा काम गर्छौ भन्दै बजारमा महंगा होटलमा गोष्ठी र सेमीनार गर्ने अनि सहभागीलाई भत्ता बाँड्र्ने सरकारी तथा गैर सरकारी संस्थाको नजर उनीमाथि अहिलेसम्म परेको छैन।