Wednesday, 23 January 2013
दैलेखमा : 10 पत्रकारलाई डेकेन्द्रको हालतमा पुर्याउने धम्की |
एकीकृत नेकपा माओवादीको दैलेख जिल्ला अधिवेशनको सुरक्षार्थ भनी ल्याइएका सयौं वाइसिएल कार्यकर्ताहरुले खुकुरी र पेस्तोल देखाउँदै त्यहा कार्यरत दशजना पत्रकारलाई डेकेन्द्रकै हालतमा पुर्याउने धम्की दिएको समाचार छ ।दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्या अभियुक्तलाई उन्मुक्ति दिन सरकारबाट दवाव दिइएपछि एमालेवादी र सरकारबिरुद्ध विपक्षी राजनीतिक दल मात्र होइन सिंगो दैलेख उत्रिरहेको छ ।दैलेखको समग्र पक्ष आफूविरोध भएपछि एमाओवादी कार्यकर्ताले त्यहाँबाट प्रकाशन हुने “हाम्रो तेस्रो आँखा” दैनिकको कार्यालयमा आक्रमण गरी कम्प्युटर टेबल, कुर्सी र शिशाहरु तोडफोड गरेका छन् ।एमाओवादी कार्यकर्ताले पत्रिकाको कार्यालयमा आगजनी गर्न खोजे पनि विपक्षी दलका कार्यकर्ताहरुले प्रतिकार गरेपछि रोकिएको थियो ।
माओवादी र विपक्षीबीच दुई पटक भएको झडपमा माउन्टेन टिभीका सञ्चारकर्मी कमल शर्मासहित केही घाइते भएका छन् ।उत्तेजक रुपमा हिंडेका एमाओवादी कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयमा पनि तोडफोड गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा गरिएको आक्रमणबाट दुई कर्मचारी सहित २४ जना घाइते भएको समाचारमा जनाइएको छ । कार्यालयभित्रै पसेर उनीहरुले लठ्ठी र ढुंगाले आक्रमण गरेका थिए ।यसैबीच दैलेखमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीमाथि गरिएको ज्यादतीको प्रेस चौतारीले भत्सर्ना गरेको छ । चौतारीले राज्यसत्ताको आडमा माओवादीका कार्यकर्ताबाट सञ्चारमाध्यम तथा सञ्चारकर्मीमाथि भएका यस्ता उद्दण्ड, अराजक, प्रेस स्वतन्त्रता विरोधी र कानुनविपरीतका क्रियाकलापको भत्र्सना गरेको छ ।चौतारीका महासचिव विष्णु रिजालद्वारा जारी विज्ञप्तिमा सरकारी साधन स्रोतका चरम दुरुपयोग गरी पार्टीको कार्यक्रममा भाग लिन गएका प्रधानमन्त्रीकै उपस्थितिमा यस्तो हर्कत हुनुले हामीलाई थप गम्भीर बनाएको उल्लेख छ । चौतारीले घटनामा संलग्न माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिन, उनीहरुमाथि आवश्यक कानुनी कारवाही गर्न र उनीहरुले पुर्याएको क्षतिको क्षतिपूर्ति दिन सरकारसंग माग गरेको छ ।साथै चौतारीले पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न अभियुक्तहरुलाई कानुनी दायरामा ल्याउने अभियानमा सक्रिय दैलेखका पत्रकारहरुलाई कत्ति पनि विचलित नभई आफ्नो अभियानमा अझ सक्रियतापूर्वक लाग्न पनि अपिल गरेको छ ।