Sunday, 6 January 2013
राउटेद्वारा सशस्त्र प्रहरी भर्नामा दरखास्त
बेलौरी (कञ्चनपुर), २२ पुस । जङ्गलका राजा भनेर चिनिने राउटे समुदायमा पनि परिवर्तनको अनुभव गर्न थालिएको छ । यसैको परिणामस्वरुप सशस्त्र प्रहरी बलले खोलेको प्रहरी भर्नामा कञ्चनपुरका एकजना राउटे युवकले आवेदन दिएका छन् ।
सशस्त्र प्रहरी बल वैद्यनाथ बाहनी अत्तरियाका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–९ खल्लामछेट्टीका १९ वर्षीय अमर राउतले सशस्त्र प्रहरी जवान पदका लागि दरखास्त आह्वान गरेको जानकारी दिनुभयो ।
थापाका अनुसार अमरले खुल्ला जनजातितर्फबाट फाराम भरेका र उनको दरखास्त नम्बर ३६५६ रहेको छ । सरकारले अन्य जातिका लागि कोटा निर्धारण गरे पनि राउटे जातिका लागि भने कुनै कोटा निर्धारण नगरेको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।
अमरले आफूलाई पनि देश र जनताको सेवा गर्ने इच्छा भएका कारण दरखास्त दिएको प्रतिक्रिया दिएका छन् ।
“सरकारले किटानै गरेर लोपोन्मुख राउटे जातिका लागि भिन्दै कोटा निर्धारण गरेको छैन,” उहाँले भन्नुभयो । उपरीक्षक थापाका अनुसार सशस्त्र प्रहरी सेवा आयोगद्वारा निर्धारण गरेका मापदण्डहरु पूरा गरे उनी सशस्त्र प्रहरीमा भर्ना हुन सक्ने छन् ।
सशस्त्र प्रहरी जवानका लागि वैद्यनाथ बाहिनीमा महिला र पुरुष गरी चार हजार एकले दरखास्त दिएका छन् ।
तपाईंलाई सशस्त्र प्रहरीमा भर्ना हुनुपर्छ भन्ने कसले भन्यो र कहाँबाट थाहा पाउनुभयो भन्ने सञ्चारकर्मीको प्रश्नमा अमरले भने, “मलाई पहिलेदेखि डडेल्धुराका जितबहादुर बमले चिन्थे र साथैदेखि उनले सहयोग गरेका थिए, बमले नै भनेर थाहा पाएको हुँ ।” आफूलाई विद्यालय पढ्नु पर्छ भनेर पनि बमले नै प्रेरणा दिएको अमरले बताए ।
बमको प्रेरणाबाट आफूले भीमदत्त प्राविमा कक्षा–५ सम्म अध्ययन गरेको समेत उनले बताए । कक्षा ५ उत्तीर्ण भए पनि आर्थिक स्थिति कमजोर भएका कारण पढाइलाई निरन्तरता दिन नसकेको अमरले गुनासो गरे ।
अमरका दुई दाजुभाइ अझै पनि जङ्गलमै बस्ने गरेका छन् । “मेरा एक दाइ र एक दिदी अझै पनि जङ्गलमै बस्छन्,”, उनले भने । जयलाल रावतका अमर कान्छा छोरा हुन् । उनी कक्षा ५ सम्म विद्यालय अध्ययन गरेका कारण यति सानो चेत आएको हो ।
अमरलाई पहिलेदेखि नै सहयोग गर्ने डडेल्धुराका स्थानीय अगुवा जितबहादुर बमले लोपोन्मख जातिलाई राज्यले हेपेको र उनीहरुको वृत्ति विकासमा कुनै ध्यान नदिएको अवस्थामा आफूले केही सानो भए पनि सहयोग गर्ने उद्देश्यले पहिलेदेखि नै सहयोग गर्दै आएको बताए । रासस