Friday, 11 January 2013
ढिंडो खान मानेनन् प्रधानमन्त्री
२८ पुस, ललितपुर । प्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रत्येक महिनाको अन्तिम हप्ताको एक दिन जनताको घरमा बास बस्ने कार्यक्रम अन्तर्गत ललितपुरको भट्टेडाँडा पुग्नुभएको छ । स्थानीयको घरमा बास बसी स्थानीय परिकार खाने प्रधानमन्त्रीले यस पटक भने उक्त क्रम तोड्नु भएको छ ।
डेढसय भन्दा बढी सुरक्षाकर्मीसँग सपत्नी भट्टेडाँडामा पुग्नुभएका उहाँ स्थानीय रामचरण चौरेलको घरमा बस्नुभयो । चौरेलले प्रधानमन्त्रीका लागि तयारी गरेको ढिंडोको परिकार अन्तिम अवस्थामा आएर स्थगित गर्नुपरेको चौरेलले बताए । उनले भने ‘ प्रधानमन्त्रीले सुख्खा रोटी खाने र सोही अनुसारको तयारी गर्न आग्रह गरेपछि, ढिडो पकाउने योजना अन्तिममा आएर विफल भयो ।’
प्रधानमन्त्रीसँगै जानुभएका उहाकी पत्नी यमी, राजनीतिक सल्लाहकार पौडेललगायत साथमा गएकाले दाल, भात, रोटी, आलु-काउलीको तरकारी खाएको र सुरक्षाकर्मीले आफ्नो बन्दोबस्त आफै गरेको नेपालसमाचारपत्रमा खबर छ ।
प्रधानमन्त्रीलाई सुताउन चौरेलले आफ्नो खाट उहाँलाई जिम्मा लगाउनुभएको थियो । पेसामा चौरेल सिलाई कटाईको काम गर्नुहुन्छ ।