Monday, 7 January 2013
जाडोले थप तीनको मृत्यु
२४ पुस । एक्कासि मौसम परिवर्तन भएर बढेको ठन्डीले सप्तरीमा सोमबार थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पिप्रापूर्व गाविस–४ निवासी ५२ वर्षीय भोला खंग (खत्वे), रूपनगर–७ का ५६ वर्षीय पुलकित सरदार र कल्याणपुर गाविस–२ की ६० वर्षीय खिखरीदेवी सदा छन् । यो सँगै चिसोले मृत्यु हुनेको संख्या सप्तरीमा ११ पुगेको छ ।
यस अघि शनिबार राति बरहीवीरपुर–७ निवासी ५६ वर्षीय जीतन यादव तथा जाडो सुरु भए यता अन्य आठ जनाको मृत्यु भइसकेको छ । जसमध्ये दुई जनाको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
विशेष गरी जाडोले ग्रामीण क्षेत्रका विपन्न वर्गका मानिसलाई बढी प्रभावित पारेको छ । जसमा बालबालिका तथा वृद्ध बढी पिरोलिएका छन् । बिहान अबेरसम्म तुवाँलो (हुस्सु) लाग्ने र दिनभरी चिसो हावासमेत चल्नाले अत्यधिक ठन्डी बढेपछि जिल्लाको जनजीवन कष्टकर बनेको हो । चिसोकै कारण सगरमाथा अञ्चल अस्पतालमा बिरामीको संख्यासमेत बढेको मेडिकल सुपरिन्टेन्डेन्ट टेकनारायण मण्डलले बताए । अस्पतालमा दैनिक ३५ देखि ५० जना ठन्डीका बिरामी उपचारका लागि आउने गरेको उनले जनाए ।
निजी विद्यालय सात दिनका लागि बन्द
अत्यधिक चिसोका कारण निजी विद्यालयहरूको छाता संगठन प्याब्सनले सोमबारबाट लागू हुने गरी सात दिनसम्म सप्तरीका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको छ । चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यामा पर्नसक्ने गम्भीर असरलाई ध्यानमा राखी यस्तो निर्णय गरिएको हो ।
सार्वजनिक बिदाबाहेक पाँच दिनसम्मका लागि जिल्लाका सम्पूर्ण विद्यालय बन्द गरिएको र दुई माघबाट पुन: विद्यालय सञ्चालन हुने प्याब्सन अध्यक्ष अनिल झाले बताए । ‘कुहिरो र चिसो हावाका कारण घरबाहिर निस्कने अवस्था छैन’ उनले भने, ‘केही दिनका लागि विद्यालय बन्द गर्नु नै उपयुक्त ठानेर सो निर्णय गरेका हौँ ।’
मारवाडीद्वारा कम्बल वितरण
ठन्डीबाट पीडित एक सय गरिब, असहाय, अपांग र वृद्धवृद्धालाई मारवाडी सेवा समितिले सप्तरीेमा सोमबार कम्बल वितरण गरेको छ । कठ्यााग्रिदो चिसोले जिल्लामा भटाभट मानिस मर्न थालेको र जनजीवन प्रतिदिन कष्टकर बन्दै गएकाले यस्तो कार्यक्रम चलाइएको अध्यक्ष थानसिंह भन्सालीले वताए ।
कम्मल पाएपछि न्यानो लुगाको अभावमा कष्टकर जीवन बिताउन बाध्य गरिबहरूले पनि राहत महसुस गरेका छन् । कम्बल उपलब्ध गराएर समितिले ठूलो गुन लगाएको पाएर दंग परेकी राजविराज–७ की सय वर्षीय वृद्ध प्रयागीदेवी साहले बताइन् । उनीसँगै दलित वस्तीकी सीमावत्ती राम, खजनीदेवी राम, कल्पनादेवी यादवलगायत विपन्न परिवारका एक सय जनाले कम्बल पाएका छन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिराज पन्तको प्रमुख आतिथ्यमा एक कार्यक्रम आयोजना गरी कम्बल वितरण गरिएको थियो ।