Wednesday, 9 January 2013

अब देशको जिम्मा हामी लिन्छौं: बैद्य

२५ पुस, काठमाडौं । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले अब देशको जिम्मा आफूहरूले लिने बताउनुभएको छ । बुधबारबाट राजधानीमा सुरु भएको पार्टीको महाधिवेशन उद्घाटन समारोहलाई सम्वोधन गर्दै वैद्यले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न नयाँ नीति, योजना र कार्यदिशा पारित गर्ने बताउनुभयो । ‘नयाँ नीति, योजना र कार्यदिशा पारित गर्नेबाला छौं । सामन्तवाद, साम्राज्यवादविरोधी नयाँ जनवादी क्रान्ति कसरी सम्पन्न हुन्न भन्नेबारेमा गम्भीरतापूर्वक छलफल गरेर अगाडि जाँदैछौं’ वैद्यले भन्नुभयो-’अब देशको जिम्मेवारी हामी लिन्छौं र एउटा क्रान्तिकारी शक्तिका रुपमा अगाडि बढ्न चाहन्छौं ।’ संसदवादी शक्तिहरुले केही गर्न नसक्ने भन्दै उहाँले देशभक्त गणतन्त्रवादी र बामपथी शक्तिहरुको बीचमा मोर्चाबन्दी गर्नुपर्नेमा जोड दिनुभयो । ‘अब यो देशमा संसदवादी शक्तिहरुले केही गर्न सक्नेबाला छैनन् । देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्नका निम्ति, जनताका हक अधिकार स्थापना गर्नका निम्ति साँचै नयाँ जनवादी क्रान्ति गर्न जरुरी छ’ उहाँले भन्नुभयो-’यो क्रान्ति गर्न देशभक्त शक्तिहरुको बीचमा राम्रो मोर्चा बन्न जरुरी छ । संसदवादीहरुसँग मोर्चाबाट अब कुनै हालतमा देश अघि बढ्न सक्दैन ।’
पुरानै सिंहदरबारमा पस्दैनौं माओवादी अध्यक्ष वैद्यले नेपालमा जनवादी क्रान्ति सम्भव रहेको भन्दै आवश्यक पर्‍यो भने १० वर्षे जनयुद्धमा भन्दा पनि ठूलो बलिदान गर्न तयार रहेको बताउनुभयो । रामबहादुर थापा बादललाई प्रधानमन्त्री बनाउँदैमा समस्या समाधान नहुने भन्दै सहभागीले मञ्चमा उठाएको प्रश्नको जवाफ दिँदै वैद्यले पुरानै तरिकाले सिंहदरवार नछिर्ने बताउनुभयो । उहाँले भन्नुभयो-’हामी पुरानो तरिकाले सिंहदरबारमा छिर्न चाहँदैनौं । हामी नयाँ सिंहदरवार बनाउन चाहन्छौं । नयाँ नेपाल बनाउन चाहन्छौं ।’ चीनको प्रशंसा, भारतको विरोध अध्यक्ष वैद्यले चीनले नेपालको राष्ट्रिय स्वाधिनताको सम्मान गरेको तर, भारतले हस्तक्षेप गरेको भन्दै दक्षिणी छिमेकीको आलोचना गर्नुभयो । वैद्यले चीनको प्रशंसा गरिरहँदा उद्घाटन समारोहमा चिनियाँ राजदूत याङ होउलान्समेत उपस्थित हुनुहुन्थ्यो । चिनियाँ कम्युनिष्ट पार्टीको शुभकामना पत्र प्राप्त भएको जनाऊ कार्यक्रम सञ्चालक सीपी गजुरेलबाट गराइएको थियो ।
‘उत्तरको छिमेकी चीनले नेपालको राष्ट्रिय स्वाधीनताको सम्मान गरेको छ तर दक्षिणबाट त्यो सम्मान भइरहेको छैन’ वैद्यले भन्नुभयो-’अनेकौं असमान सन्धी सम्झौता छन्, हामी भारतको विरोध गर्न चाहँदैनौं तर, त्यहाँका शासक वर्गले हाम्रो राष्ट्रिय स्वाधीनतामाथि गिद्धे दृष्टि लगाइरहेका छन् ।’ भारतीय जनताको सम्मान गर्ने भन्दै वैद्यले भारतीय सरकारले नेपालको राष्ट्रिय स्वाधीनतामा खतरा हुन नहुने बताउनुभयो । आफूहरु दुई देशको सम्वन्ध राम्रो बनाउने पक्षमा रहेको भन्दै उहाँले भन्नुभयो-’तर, नेपालमाथिको गिद्धे दृष्टिको अन्त्य हुनुपर्‍यो ।’ वैद्यलाई प्रश्न-’हाम्रो जनमुक्ति सेना खोई ? सम्मलेनको उद्घाटनमा शुभकामना दिन पुगेका पूर्वमाओवादी नेता मात्रिका यादवले वैद्यपक्षको लाइन स्पष्ट नभएको आरोप मञ्चबाटै लगाउनुभएको थियो । ‘धोका दिइयो भने बिद्रोह गर्ने रे, धोका भैसकेको छ, त्यसैले राजनीतिक दिशा स्पष्ट गर्नोस् ।’ यादवले मञ्चबाट भन्नुभयो । साथै बादललाई प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष निवेदन दिएकोमा पनि यादवले आपत्ति जनाउनुभयो । ‘गद्दारहरुसँग केको राष्ट्रिय सहमति ?’ यादवले भन्नुभयो । अर्का पूर्वमाओवादी नेता मणि थापाले मोहन वैद्य र बादललाई प्रश्न गर्नुभयो- ‘हाम्रो जनमुक्ति सेना खोई ? अनि हाम्रो आधारइलाका खोई ?’ माओवादीमा चुनवाङ बैठकबाटै विचलन आएको बताउँदै थापाले यसको जिम्मेवारी लिन नेताहरुलाई आग्रहसमेत गर्नुभयो । सभामा प्रस्तुत गीतमा पनि ‘हाम्रो जनमुक्ति सेना खोई ? अनि हाम्रो आधार इलाका खोई ? हाम्रा जनअदालत खोई भनेर नेतृत्वलाई प्रश्न गरिएको थियो ।
नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले बाबुरामलाई सरकारबाट हटाएपछि सजिलै समस्या समाधानको मार्गप्रशस्त हुन्छ भन्दै मधेसी दलहरुलाई बाबुरामको साथ छाड्न आग्रह गर्नुभयो । कार्यक्रममा अमेरिका, क्यानडा लगायतका मुलुकबाट आएका कम्युनिष्ट नेताहरुले शुभकामना दिएका थिए । एमाओवादी, कांग्रेस र एमालेलाई निम्तो छैन महाधिवेशनको उद्घाटन समारोहमा एमाओवादीका नेताहरु पार्टीबाट छटि्टएर गएका बैद्य नेतृत्वको माओवादीलाई शुभकामना दिन पुगेनन् । कांग्रेस, एमाले र सत्तारुढ मधेसी मोर्चाका नेताहरुलाई पनि नबोलाइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । ‘संशोधनवादविरुद्ध लडौं भन्ने अनि तिनै एमाले, कांग्रेसका नेतालाई मञ्चमा राख्ने कार्य शोभनीय नहुने भएकाले एमाले, एमाओवादी, कांग्रेस र मधेसी मोर्चालाई निम्तो नदिइएको हो ।’-भुसालले अनलाइनखबरसँग भन्नुभयो ।

You Might Also Like This

 

Pages