Wednesday, 19 December 2012

सुनको माग घट्यो

काठमाडौं, पुस ४ (नागरिक)-बिहेको लगन धेरै भएको मंसिर महिना सकिएपछि नेपाली बजारमा सुनको माग घट्न थालेको छ। विवाहका लागि सुनका गहना आवश्यक पर्ने हुँदा मंसिरमा सुनको माग बढेको थियो। पुस लागेपछि भने माग क्रमशः घट्न थालेको व्यवसायीले बताए।
 'मंसिरभर दैनिक ३५ किलोसम्म माग थियो, अहिले कम हुन थालेको छ,' नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, 'लगन नभएका महिनामा जहिले पनि माग घट्छ।'
शाक्यका अनुसार अहिले नेपाली बजारमा दैनिक २० देखि २५ किलोको हाराहारीमा सुनको कारोबार भइरहेको छ। अहिले नेपालमा वाणिज्य बैंकहरुले मात्र सुन आयात गर्न पाउँछन्। बैंकहरुले दैनिक १५ किलोमात्र सुन आयात गर्न पाउने व्यवस्था छ। बिहेको लगनका बेलामा माग बढ्दा आपूर्ति गर्न अहसज भएको व्यवसायीले बताउँदै आएका थिए।
माग बढेपछि त्यसलाई आपूर्ति गर्न अवैध ढंगबाट सुनको आयात हुने गरेको व्यवसायीले बताउँदै आएका छन्। पुस लागे लगत्तै घट्न थालेको सुनको मागमा अझै कमी आउने शाक्यले बताए। उनका अनुसार बिहेको लगन नभएको महिनामा सुनको दैनिक माग करिब १५ किलोमा सीमित हुने गरेको छ। सरकारले अहिले बैंकहरुले आयात गर्ने सुनमध्ये ६० प्रतिशत राजधानीमा र ४० प्रतिशत बाहिरी जिल्लामा बिक्री गर्ने व्यवस्था मिलाइदिएको छ। सुनको माग बाहिरी जिल्लामा भन्दा राजधानीमा बढी हुने गरेको छ। राजधानीमा गहनाका अतिरिक्त हस्तकला व्यवसायीले पनि सुनचाँदीको खपत गर्ने गरेका छन्। उनीहरुले विभिन्नखाले हस्तकला सामग्री बनाउन सुनचाँदी प्रयोग गर्छन्। भाउ बढ्यो-केही दिनदेखि घटिरहेको सुनचाँदीको भाउ मंगलबार बढेको छ। अन्तर्राष्ट्रिय बजारमा महँगिनु र डलरको भाउ बढ्नाले मंगलबार सुनचाँदीको मूल्यवृद्धि भएको हो।
नेपाली बजारमा सोमबारका तुलनामा मंगलबार सुन तोलामा ३ सय रुपैयाँ महँगिएको छ। मंगलबार नेपाली बजारमा सुन तोलाको ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। सोमबार सुन तोलाको ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
नेपाली व्यवसायीले मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ७ सय २ डलर ९० सेन्ट भएका बेला भाउ तोकेका हुन्। सोमबार भने १ हजार ६ सय ९६ डलर रहेका बेला भाउ तोकिएको थियो। सोमबारको तुलनामा चाँदीको भाउ पनि महँगिएको छ। सोमबार तोलाको १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ५ रुपैयाँ बढेर १ हजार १ सय ७० मा कारोबार भयो।एकैदिन डलर ४० पैसा महँगिएकाले पनि सुनचाँदीको भाउ बढाउनुपरेको संघका अध्यक्ष तेजरत्न शाक्यले बताए। नेपालमा सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारका आधारमा तोकिने गरे पनि डलर महँगिँदा आयात लागत बढ्ने भन्दै व्यवसायीले भाउ बढाउने गरेका छन्।

You Might Also Like This

 

Pages