एकीकृत नेकपा माओवादीको ब्यूरो प्रमुखसहितको बैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई अनुपस्थित हुनु भएको छ ।
सरकार तत्काल छाड्ने कि शर्त पूरा गरेपछि मात्रै भन्ने विषयमा माओवादी प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईबीच बढेको विवाद मिलाउन पदाधिकारी एवं ६ जना ब्यूरो प्रमुखहरुको बैठक बोलाइएको थियो । तर, झण्डै डेढ घण्टादेखि प्रचण्ड निवासमा जारी बैठकमा एमाओवादी उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री भट्टराई अनुपस्थित हुनुहुन्छ । उहाँ सिंहदरवारमा हुनुहुन्छ ।
पार्टी अध्यक्ष प्रचण्डले सरकार छाड्न आग्रह गर्दा प्रधानमन्त्रीले नमानेपछि प्रचण्डकै आग्रहमा पार्टी नेताहरुको म्यान्डेट लिन बैठक बोलाइएको स्रोत बताउँछ । मंगलबार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले लाजिम्पाट पुगेर प्रचण्डलाई प्रधानमन्त्रीसँग मिलेर अघि बढ्न सल्लाह दिनु भएको थियो ।
ब्यूरो प्रमुखहरुको बैठकले प्रधानमन्त्रीको अडानलाई समर्थन गर्ने या प्रचण्डको लाइन अनुसार अघि बढ्ने भन्ने निक्र्याैल गर्ने छ । अध्यक्ष प्रचण्ड कांग्रेस सभापति सुशील कोइरालालाई सत्ता सुम्पने पक्षमा रहेको तर, भट्टराईले कुनै पनि हालतमा कोइरालालाई प्रधानमन्त्री बनाउन नचाहेको अवस्थामा यो बैठक बोलाइएको हो ।
सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने गरी तत्काल सरकार छाड्नुपर्ने पक्षमा रहेका अध्यक्ष प्रचण्डको प्रस्तावमा उपाध्यक्ष भट्टराईले आपत्ति जनाउनुभएको छ । पार्टी र सरकारी गठवन्धनले अघि सारेका सर्त पूरा नगरी र बैशाखमा संबिधानसभा निर्वाचन हुने ग्यारेन्टी नगरी सरकार छाड्न नहुने अडानमा प्रधानमन्त्री भट्टराई हुनुहुन्छ । बाबुरामजी भ्रममा पर्नु भो- प्रचण्ड
यसैवीच एमाओवादी अध्यक्ष प्रचण्डले पार्टी-निर्णयमा अडिग रहेको र आफूले कांग्रेस, एमालेका नेताहरुसित कुनै लिखित सम्झौता नगरेको बताउनुभएको छ । प्रचण्डसँगको आन्तरिक कुराकानीलाई उधृत गर्दै एक एमाओवादी नेताले अनलाइनखबरसँग भने- ‘चुनावको ग्यारेन्टी नभई सरकार नछाड्ने निर्णय यसअघि नै पार्टीले गरिसकेको छ र त्यसमा म अडिग छु, बिनाशर्त सरकार छड्ने भनेर मैले कुनै लिखित समझदारी गरेको छैन, बाबुरामजीलाई भ्रममात्रै परेको हो ।’पहिलो चरणमा यही सरकारलाई सहमतिको स्वरुप दिएर चुनाबी बाधा फुकाउने र दोस्रो चरणमा कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने पार्टीको निर्णयप्रति प्रचण्ड अडिक रहेको दाबी नेताहरुले गरेका छन् ।प्रचण्ड र बाबुराम मिल्नुहुन्छ- पौडेल
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले प्रचण्ड र बाबुराम दुबै मिलेर अघि बढ्ने दाबी गर्नुभएको छ । ‘मैले दुबैलाई तपाईहरु मिल्नोस् भनेको छु, उहाँहरु मिल्नुहुन्छ । चुनाबको ग्यारेन्टी नभएसम्म र संवैधानिक बाधा नहटेसम्म प्रधानमन्त्रीले सरकार छाड्नुहुन्न ।’ पौडेलले भन्नुभयो ।
लाजिम्पाटमा एमाले र कांग्रेस नेताले प्रचण्डलाई पेलेर प्रधानमन्त्रीको राजीनामामा कायल गराउन खोजेको र आफैले बुँदाहरु बनाई मन्त्रालय भागवण्डामा समेत छलफल गरेको भए पनि प्रचण्डले त्यसमा कुनै सहमति नजनाएको पौडेलले दाबी गर्नुभयो । विपक्षीहरुले प्रचण्ड र बाबुरामवीच अन्तरविरोध चर्काउन खाजेको पौडेलको आरोप छ । ‘भैरेहको सत्ता जिम्मा लगाएर मन्त्री माग्दै हिँड्नु लज्जास्पद हुन्छ । चुनावको ग्यारेन्टी भए प्रधानमन्त्री सहमतिको बाधक हुनुहन्न ।’-पौडेलले भन्नुभयो ।