Thursday, 13 December 2012
दुलहन फर्काउने माइतीघर बन्यो पूर्वपतिको घर
पूर्वपतिका घर आँगनमै जग्गे लगाएर अँस्ती मात्रै पुनर्विवाह गरिएकी गुल्मी तमघासकी एकल महिला उषा नेपालीले दुलहन फर्काउने माइतीघर पनि पूर्वपतिकै घर बनाएकी छन् ।
गुल्मीको जैसीथोक माइतीघर भई तम्घास ३ बाघमारेमा विवाह भएकी उषा नेपाली विवाहको डेढ वर्ष नहुँदै विधुवा हुनुपरेको थियो। २०६४ साल असार महिनामा उनका पूर्व श्रीमान् प्रदिप नेपालीको तमघासकै उदिनढुङ्गा तलको भीरमा रहस्यमय मृत्यु भएको थियो ।
२१ वर्षको उमेरमा विधुवा बनेकी उषा विवाहको अघिल्लो दिन सम्म विधुवाको पहिरनमा थिइन् ।बैंस उमेरमै मनको ईच्छा आकांक्षा दबाएर घर गरेकी उषाका परिवारले धुर्कोट रजस्थल स्थित आषिश नेपालीलाई आफैले मागेर गत सोमबार घरमै जग्गे लगाएर विवाह गराईदिएका थिए । हिन्दू प्रचलन अनुसार विवाहको दुई दिनपछि दुलहन फर्काउन माइती आउनुपर्ने उषा आफ्नै माइती नगई आज दुलान फर्काउन पूर्वपतिको घर तम्घास बाघमारेमा नवपति आषिशलाई लिएर आएकी छन् ।
"यो मेरो पराईघर नभएर जन्मघर भन्दा पनि ठूलो योद्धाघर बनेको छ", उनको प्रतिक्रिया थियो । "जीवन संघर्ष हो", उषाले भनिन्, "यो घरले मलाई संघर्ष गर्न सिकायो मलाई एउटा योद्धाका रुपमा तयार पा¥यो । जन्मघर जैसीथोकमा नगई हामी आज पूर्वपति प्रदिपकै घरमा माइती बनाउन आएका छौँ" भन्ने उषालाई सासु लक्ष्मी नेपाली र ससुरा सुर्यबहादुर नेपाली अँगालो हालेर भित्र पसाएका थिए ।
यो विवाह जिल्लामै नयाँ इतिहास रच्ने विवाह भनेर राष्ट्रिय सञ्चार माध्यमले समेत महत्वका साथ प्रचार प्रसार गरेका छन् । उषा हिमालय उच्च माध्यमिक विद्यालय धुर्कोटबस्तुमा कक्षा १२ की विद्यार्थी हुन् ।
सासु आमा, जेठाजु कृष्ण नेपाली र देवर शंकर नेपालीले आफै केटा मागेर विवाहको प्रस्ताव गरेपछि नकार्न सकिन भन्दै उषाले आफुजस्तै कलिलो उमेरमा विधुवा बन्ने दिदिबहिनीहरुलाई यसरी नै दोस्रो विवाह गर्न सुझाव दिइन ।
विवाहको अघिल्लो दिनसम्म विधुवाको पहिरनमा उराठलाग्दी उषालाई आज दुलान फर्काउन आउँदा रातो साडी सिउँदोमा सिन्दूर साथमा कोट पाइन्टमा सजिएका नवदुलाहा देख्दा बाघमारे टोलका महिलाहरुको आँखामा खुसीका आँसु बगिरहेका थिए ।