Wednesday, 2 January 2013

महिला हिंसाविरुद्ध के भन्छन् नेपालका नायिका र गायिका ?

केही दिनयता समाजमा बढेको महिला हिंसा रोकथामका लागि विभिन्न संघसंगठन सडकमै ओर्लिएका छन्। महिला हिंसा बढ्नुको कारण र यसप्रति चाल्नुपर्ने कदमबारे ६ जना कलाकारसँग लिइएको प्रतिक्रियाः 1.प्रियंका कार्की, अभिनेत्री हाम्रो देशमा कानुन फितलो छ। कारबाही निश्चित छैन। जरिवाना पनि न्यून भएकै कारण अपराध गर्ने सहजै छुट्छन्। कानुन परिवर्तन हुनुपर्छ। सुरक्षा दिने सुरक्षाकर्मीले नै बलात्कार गर्न थालेपछि कसरी सुरक्षाको आशा गर्न सकिन्छ? कहिलेकाहीँ एक्लै हुँदा डराउनु पर्ने अवस्था छ । राति पनि केटीहरु स्वतन्त्र भएर हिँड्न सक्छन् भनेमात्र सुरक्षित छु भन्न सकिएला। यहाँ दिउँसो पनि एक्लो हिँड्न डर भइसकेको छ। 2.ऋचा शर्मा, अभिनेत्री
महिला हिंसा पहिले पनि हुन्थे, तर अहिले सचेतनाका कारण घटना सार्वजनिक भएका छन्। प्रशासनको बेवास्ता र असुरक्षाको कारण महिला हिंसा एक्कासी बढेको हो। महिला हिंसाबारे सबैजना सचेत हुनुपर्‍यो। त्यसबाहेक समाजमा रहेको महिला र पुरुषबीचको विभेद अन्त्य हुनुपर्छ। महिलाहरुलाई आदर गर्ने परिस्थिति सिर्जना भए पनि हिंसामा कमी आउन सक्छ। हाम्रो कानुन कमजोर भएकोले हिंसा मौलाएको हो। महिलामाथि अत्याचार गर्नेलाई कडा सजाय हुनुपर्छ। बिहान घरबाट बाहिर निस्केर घर नपुग्दासम्म परिवारलाई तनाव हुने स्थिति अहिले छ। 3.विधाता केसी, चित्रकार फितलो कानुन परिवर्तन नहुँदा महिला हिंसा बढेको हुनसक्छ। त्यसबाहेक महिलाहरुलाई दिनुपर्ने सम्मान भावको कमीले पनि हरेक दिन हिंसा बढेको हो। नियम बनाउनेहरुबाट नियमको अवमूल्यन हुन थालेका छन्। सरकारले कडा कानुन बनाउनु पर्छ। समाजमा अहिले पनि महिलाहरुले प्राथमिकता पाउन नसक्दा घरेलु हिंसा बढेको हो। महिला हिंसा गर्नेलाई तुरुन्त कडा सजाय दिनसक्नु पर्छ। अहिले पनि घर फर्किने बेला ढिला हुँदा असुरक्षित छु कि भन्ने डर हुन्छ। 4.शशि रावल, गायिका महिलासम्बन्धी कानुन परिवर्तन हुनुपर्छ। कानुन फितलो भएकोले घरेलु हिंसाले प्राथमिकता पाएको छ। सम्बन्धित निकाय आफैं अपराधमा लतपतिएको छ। त्यसले समाजमा नकारात्मक सन्देश जाने गरेको छ। एक्लै हिँड्दा डर पैदा हुन थालेको छ। म सकुशल घर फर्कन्छु कि फर्किन्न भन्ने शंका समाजमा बढेको हिंसाले उत्पन्न भएको हो। त्यसैले सबैलाई जागरुक बनाउन जरुरी छ। 5.रिमा गुरुङ,गायिका
अशिक्षित भन्दा पढेका मानिसले धेरै हिंसा गरेको देखेको छु। नीतिनियम कडा बनाउन नसक्दा पनि हिंसा बढेको हो। समाज व्यवस्थित हुन सकेको छैन। समस्याको कारणतिर हामीले ध्यान दिन नसक्दा आपराधिक घटना बढेको हो। जनचेतना भनेको तल्लो तह अझ घरबाटै सुरु गर्नुपर्छ। घरको हिंसा मात्रै रोक्न सकियो भने धेरै अमनचैन आउन सक्छ। महिला खुला भएर हिँड्ने अवस्था छैन। 6.सरिता गिरी, रंगकर्मी महिलालाई प्रशस्त सुरक्षा प्रबन्ध नभएकोले हिंसा बढेको हो। त्यसबाहेक सानैदेखि परिवारले पनि छोरीलाई कमजोर रुपमा हेर्ने र लिने प्रवृत्तिले गर्दा महिलाहरु कमजोर भएका हुन्। परिवारका सदस्यले छोरीलाई आत्मनिर्भर बनाउन सक्नुपर्छ। म चाहिँ आफ्नो सुरक्षा गर्न सक्छु भन्ने लाग्छ। मेरो जस्तो विचार सबैले गर्न सकेका छैनन्। त्यसले उनीहरुमाथि सहजै हिंसा हुन सक्छ।

You Might Also Like This

 

Pages