काठमाडौं, पुस २० (नागरिक) - जनसमुदायमा ट्राफिक प्रहरी कसरी पेश हुनुपर्छ भन्ने विषयमा अभिनेता राजेश हमालले करिब डेढ घन्टा आफ्नो भनाई राखे। 'सर्भिस विथ अ स्माइल' विषयक आचरण व्यहार सुधार सम्वन्धि एक हप्ते तालिम अन्तरगत बिहीबार उनको अनुभव र अपेक्षा सुन्न महानगरिय ट्राफिक प्रहरी महाशाखाले हमाललाई निम्ता गरेको हो। कार्यक्रममा हमालले पेशागत दक्षता सँगै ट्राफिक प्रहरीले मानवीय गुण बिर्सन नहुने बताए। 'समस्या न्युनिकरण गर्ने दायित्व त छँदैछ, जनताको विश्वास पनि जित्नसक्नुपर्छ,' यसका लागि कार्यक्रमको नाराजस्तै व्यवहारमा पनि 'विथ स्माइल' प्रस्तुत हुन उनले आग्रह गरे।
आममान्छेमा गढेको नकारात्मक धारण बदल्ने ठूलो चुनौती ट्राफिक प्रहरीसामु रहेको उनले चर्चा गरे। 'नम्रताभित्र कडापन र कडा व्यक्तित्वभित्र नम्रता तपाईंहरुले अपनाउनु पर्ने तत्व हो,' हमालले सुझवमात्र दिएनन् सीमित साधन स्रोतको भरमा पनि उनीहरुले देशाएको कार्यशैलीको प्रशंसा पनि गरे। कार्यक्रममा उनले देश विदेशको अनुभवसमेत सुनाए।
कार्यक्रमपछि 'नागरिक'सँग कुरा गर्दे हमालले भने,'संगठनको समीक्षा सुन्न तयार हुनु, आम मनस्थिति जान्न र सुधि्रने प्रयत्न गर्नु आफैंमा राम्रो कुार हो। मलाई यो तरीका मनपर्यो।'