कपिलवस्तु,पुष २० । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयका कर्मचारीहरुलाई गाली गलौज तथा दुर्व्यवहार गरेको आरोपमा मधेसी जनअधिकार फोरम नेपालका पूर्वसभासद् अभिषेक प्रताप साहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पथ्थरदेहिया गाविसस्थित एक विद्यालयको कार्यक्रममा सहभागी भई फर्कने क्रममा उनलाई भन्सार कर्मचारीहरुको उजुरीको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । गत पौष ३ गते साहको भैंसी र रांगा तस्करी हुन लाग्दा प्रहरीले नियन्त्रणमा लिई भन्सारमा बुझाएको थियो । तर साहले ती रांगा र भैंसीलाई आफ्ना कार्यकर्तासहित भन्सार कार्यालयमा गई जबरजस्ती छुटाएका थिए । सोही क्रममा गाली गलौज र दुर्व्यवहार गरेको भनि भन्सार कर्मचारीहरुले प्रहरीमा उजुरी दिएका थिए । साहले भने आफुले गरीब कृषकहरुको पक्षमा आवाज उठाउनुका साथै प्रहरी प्रशासनले सीमावर्ती क्षेत्रमा सर्वसाधारण कृषकहरुसंग रकम असुली गर्दै आएकोमा त्यसको विरोध गरेकाले प्रहरीले गलत आरोप लगाई पक्राउ गरेको बताएका छन् ।